सिरहा १९ भदौ । सिरहाको सलहेस युवा क्लबले लगातार दोस्रो वर्ष पनि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा सञ्चालित प्रतियोगिताको फाइनलमा सिरहाले १–० गोल अन्तरले जितेको हो । तीन वर्षयता लगातार प्रतियोगितामा सहभागी हुँदै आएको सलहेस पहिलो खेलमा उपविजेता र त्यसपछिका खेलमा विजेता बनेको हो ।
खेलको मध्यान्तरसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछि खेलको ७१ औं मिनेटमा सहलेसका फागुराम थारुले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाउनुभएको हो । फिदिमका तर्फबाट गोल फर्काउने अधिक प्रयास गरे पनि सफल बन्न नसक्दा उपविजेतामै सीमित हुनुप¥यो ।
यता उपाधि जितसँगै सलहेसले सात लाख दुई हजार ८३ रुपियाँ नगद राशिको पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भएको फिदिम स्पोर्टिङ क्लबले भने तीन लाख ५२ हजार ८३ रुपियाँका साथै ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
चौथो ताप्लेजुङ गोल्डकपको सर्वोकृष्ट खेलाडी फिदिम स्पोर्टिङ क्लब पॉचथरका अनुकेश शेर्मा बनेका छन । उनले बजाज १५० सिसि को पल्सर मोटरबाइक प्राप्त गरेका छन ।
प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा खेलाइने गरिएको प्रतियोगितामा यस वर्ष आठ टोली सहभागी भएका थिए ।
प्रतियोगिता गत भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
