नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज

मोटरसाइकलमा लुकाइएको ब्राउन सुगरजस्तो पदार्थ बरामद, युवक पक्राउ

सिरहा, १४ भदौ । सिरहा प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकलबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरेको छ। प्रहरीले पदार्थसहित मोटरसाइकल चालक एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल रोकी खानतलासी गर्दा गोलबजार नगरपालिका–९ निवासी करिब २६ वर्षीय रोकेश यादवले चलाएको मोटरसाइकलको भित्री भागमा कालो प्लास्टिकभित्र लुकाएर राखिएको खैरो पदार्थ फेला परेको थियो।

सिरहा नगरपालिका–१५ बुधौरा क्षेत्रमा पर्ने प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो। बरामद पदार्थ प्लास्टिकसहित ६ ग्राम १३० मिलिग्राम र प्लास्टिक हटाएर तौल गर्दा ५ ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पदार्थसँगै मोटरसाइकल र चालक यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको छ।

भारतसँगको खुला सीमा भएका कारण सिरहाका विभिन्न नाकाबाट लागुऔषधको ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा निगरानी तथा चेकजाँच बढाएको जनाएको छ।

बरामद पदार्थ वास्तविक रूपमा कुन प्रकृतिको लागुऔषध हो भन्ने विषय परीक्षण तथा अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।