अन्तर्राष्ट्रिय · धर्म-संस्कार · नेपाल पोस्ट दैनिक बिशेष · समाचार · सामाज

आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै

सिरहा, १० भदौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती अर्थात् मोहम्मद जयन्ती आज नेपालसहित विश्वभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यसैबीच, नेपाल सरकारले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले यससम्बन्धी सूचना जारी गरेको छ।
विशेष गरी मुस्लिम समुदायको घना बस्ती भएको क्षेत्रहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउनेछ । विगतमा मधेश प्रदेश, लुम्बिनी प्रदेश, बाँकेलगायत मुस्लिम समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा धार्मिक ¥याली, मस्जिदमा प्रार्थना, सरसफाइ तथा सामूहिक कार्यक्रम आयोजना हुँदै आएका छन्।
मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज तथा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश र शिक्षालाई स्मरण गर्ने, धार्मिक ¥याली तथा सभा आयोजना गर्ने र एकअर्कालाई शुभकामना आदानप्रदान गर्ने गरेका छन्। कतिपय स्थानमा सामूहिक भोज तथा सामाजिक सेवाका कार्यक्रमसमेत आयोजना गरिन्छ।
हजरत मोहम्मदले मानवता, करुणा, आपसी भाइचारा, शान्ति, सद्भाव र परोपकारको सन्देश दिएको मुस्लिम समुदायको विश्वास छ। त्यसैले मोहम्मद जयन्तीलाई धार्मिक आस्थासँगै सामाजिक एकता र आपसी सद्भाव प्रवर्द्धन गर्ने अवसरका रूपमा पनि लिइन्छ।
इस्लामिक पात्रो हिजरी संवत्को रवि–उल–अव्वल महिनाको १२ तारिखलाई हजरत मोहम्मदको जन्मदिनका रूपमा मुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने गर्छन्। उहाँको जन्म साउदी अरबको मक्कामा भएको धार्मिक इतिहासमा उल्लेख छ।
मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। विभिन्न धर्म र समुदायबीचको एकता तथा शान्तिपूर्ण सहअस्तित्वको सन्देश फैलाउन पनि यस पर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।