सर्लाही ५ जेठ । सर्लाहीको लालबन्दीमा यात्रु बाहक बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लालबन्दी नगरपालिका १७ रानीगञ्ज बस्ने वीर सिंह पन्तकी २२ वर्षीया छोरी सोना पन्त छिन् । उनलाई उपचारका लागि मोडेल अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोमबार दिउँसो ४.४० बजेको समयमा लालबन्दी नगरपालिका १७ रानीगञ्जस्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २६४५ नम्बरको भ्यानलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबै भ्यानमा सवार व्यक्तिहरू हुन् ।
बस चालक फरार रहेको, दुवै सवारीसाधन घटना स्थलमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ । सभार अनलाईन खबर