२० सुखड, गत असोज २ गते रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पत्रकार निर्मला पहराईको न्यायका लागि प्रदर्शन गरिएको छ । घोडाघोडीमा रहेको संयुक्त दलित जनजागरण मञ्चको अगुवाईमा निस्पक्ष अनुसन्धान तथा न्यायको माग राख्दै मंगलबार कैलालीको सुखडमा प्रदर्शन गरिएको हो ।
घटनाको छानबिन गर्न प्रहरी प्रशासनले खासै चासो नदिएको र अपराधी बचाउने खेल हुन थालेको आशंका गर्दै निस्पक्ष अनुसन्धान गरी दोसीलाई कार्वाहीको दायमा ल्याउन माग गरिएको छ । बिभिन्न सरोकारवालाहरुले सोमबार सुखडमा प्रदर्शन गर्दै निर्मलालाई न्याय दिलाउने कुरामा कहीकतै कन्जुस्याई भए चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएका छन । सबैलाई जागरुप गर्ने पत्रकार जस्तो ब्यक्तीको हत्या भएको दाबि गर्दै परिवारले उनको न्यायका लागि सरोकारवाला सबै चिन्तित र जिम्मेवार बन्न आग्रह समेत गरेका छन ।
प्रहरी प्रशासनले भने घटनाको निस्पक्ष छानबिन भईरहेको दाबि गर्दै आएको छ । पोष्टमार्टम रिपोर्टको भिसेरा परिक्षणका लागि काठमाण्डौ पठाईएको तथा आरोपीको मोवाईल समेत नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताईएको छ । घटनामा संलग्न रहेको आशंकामा मृतकका परिवारको जाहेरीको आधारमा प्रहरीले स्थानीय ललित जाग्री र धना साउँदलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको बताईएको छ ।