समाचार

पश्चिम नवलपरासीमा भदौ १० गते राति १२ बजे सम्मको लागि पुनः निषेधाज्ञा थप

उर्मिला यादव नवलपरासी६ भदौ ।जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गते राति १२ बजे सम्मको लागि पुनः निषेधाज्ञा थप गरेको छ । पछिल्लो समय जिल्लाको बिभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा थप गरीएको हो । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मको लागि पुनः निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
बैठकले जिल्ला भित्र संचालित बैंक , बित्तिय संस्था एवम सहकारीहरुले अधिकतम रुपमा बिद्युतिय माध्यमबाट सेवा दिन जोड दिएको छ भने मानिसहरुको भौतिक उपस्थितीमा दिइने सेवा भदौ १० गतेसम्म स्थगन गरीएको जनाएको छ । यस्तै गरी अत्यावश्यक अवस्थालाइ दृष्टिगत गरी सम्पर्क ब्यक्ति तोकी दैनिक जिवनमा कठिनाइ भएमा सेवा दिने ब्यवस्था सम्बन्धित संस्थाको प्रमुखले मिलाउने समेत निर्णय गरेको छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, भेला जस्ता सामुहिक जमघट हुने कार्यहरु गर्न रोक लगाइएको छ ।