झापा २२ मंसिर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन् । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए ।
गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानूनी कार्वाहीको दायरमा आइरहेको चर्चा गर्दै उनले भने, ‘हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं ।’
उनले समाजमा अपराध नियन्त्रण र कानूनीराज स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिए । उनले भने, ‘मान्छे पक्राउ पर्नासाथ छाडिदिनुप¥यो भनेर जनप्रतिनिधिहरु ठूला मान्छेकहाँ धाउने गर्नुहुन्छ, यस्तो गर्नु गलत हो ।’