काठमाडौं १४ साउन, । देशका सबै स्थानीय तहहरुमा बैंकको शाखा पुर्याउने लक्ष्य नजिक सरकार पुगेको छ । तर, गत आर्थिक वर्षमा भने लक्ष्य पूरा हुन सकेन ।
मुलुक संघीय संरचनामा गएपछि गठन भएका ७५३ स्थानीय तहमा आर्थिक वर्ष २०७४/७५ को असार मसान्तभित्र आफ्नो शाखा खोल्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंकहरुले तदारुकता देखाए ।
बैंकहरुले स्थानीय तह भागबण्डा नै गरेर अभियान चलाएपछि हालसम्म ७ सय ३२ स्थानीय तहमा बैंक शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार अब २१ स्थानीय तहमा मात्र शाखा स्थापना हुन बाँकी छ ।
कुन प्रदेशमा कति बाँकी ?
हालसम्म बैंक शाखा खोल्न नसकिएका स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशका छन् । कर्णाली प्रदेशका अझै ७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुग्न सकेको छैन ।
कर्णालीपछि सुदुरपश्चिम प्रदेशमा पनि आधा दर्जन स्थानीय तहहरुमा वाणिज्य बैंकको उपस्थिति पुगिसकेको उनले बताए । प्रदेश नम्बर ५ मा भने सबै स्थानीय तहहरुमा बैंकका शाखा पुगिसकेका छन् ।
यसैगरी प्रदेश १ को एउटा, प्रदेश २ को दुईवटा र प्रदेश ३ को ३ वटै स्थानीय तहहरुमा बैंकको शाखा पुग्न बाँकी रहेको प्रवक्ता निरौलाले जानकारी दिए ।