सिरहा, साउन २ गते । सिरहामा एसइई परीक्षापछि थप अध्ययन तयारीका लागि लहानमाडेरा गरी बसिरहेका विद्यार्थीको हत्यामा संलग्न रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतल विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय भएको छ भने ५ जनालाई सफाइको फैसला सुनाएको छ ।
हत्याको अभियोगमा लहान ३ का ४२ वर्षीय बसन्त साह र सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ५ कुसहाकी ३३ वर्षीया रञ्जुकुमारी मण्डललाई अदालतले मंगलबार आजीवन कारावासको फैसला सुनाएको हो ।
अदालतले उक्त मुद्दाका पाँच जनालाई सफाईसहित एक जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको छ । सिरहा जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलासले लहान ३ का भोलाजित सिंह, दिपक शर्मा, मो। मिस्टर राइन, नइम राइन र महेशकुमार यादवलाई सफाइ दिंदै हत्यामा संलग्न रहेका रामानन्द गुप्ता फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको बताइएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमाका करिब १८ वर्षीय श्रवणकुमार साह लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा माविबाट २०७३ को एसइइ परीक्षा दिएर थप अध्ययनक लागि आफ्नो भतिजसँग डेरामा बस्दै आएका थिए । २०७३ चैत १३ गते साँझदेखि डेराबाट हिंडेका साह भोलिपल्ट दुर्गाप्रसाद महतोको लहान ३ स्थित आँप बगैंचाको रुखमा खुट्टा भुईंमै छुने गरी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
उनको खुट्टामा तीन चार ठाउँमा चक्कु प्रहार गरिएको घाउ, रगत बगेको र मृतकको खुट्टाले समेत भुइँ छोएको पाइएपछि हत्या गरेर झुण्ड्याइको हुन सक्ने आशङ्काको आधारमा प्रहरीले तत्काल अनुसन्धान तीब्र बनाएको थियो ।