लक्ष्मी बान्तावा राई ,काठमाडौं ।
एउटा बन्द कोठा भित्र
केहि थान सपनाहरु साकार पार्न,
दुई चार थान कपडा बोकेर
सपनाहरुको भारि बिसाउँनु छ ।
रातमा सपाना देख्ने मनलाई
दिनले पछारेपछि
आजभोलि सपना हराएको छ
अँधेरी रातमा सपना खोज्दै निदाउन् पनि
मुस्किलले समय गुज्रिरहेको छ ।
समय बदलिएको छ
परिस्थिति फेरिएको छ
अनि सपनाहरु पनि बेरिएको छ
सपनाको दास बन्न मान्छे छोडिएको छ ।
अस्तब्यस्त कोठाभित्र
छरपस्ट जिन्दगी बटुलिरहेको छ,
चिन्तामा परेको जिन्दगी
खै कहिले फल्ने हुन् खोजिरहेका छन् ।
हजारौँ मान्छेको अनगिन्ती मन
अनि लाखौं सपनाहरु
गिजोलिएको शहरमा खोजिरहेछन्,
खोइ मेरा सपना, खोइ मेरा जिन्दगी ।
एक छाँक भोकको भरमा
कतिन्जेल अँध्यारो कोठा रोज्ने
अनि कतिन्जेल अरुको भर खोज्ने
र, आफ्नै आँखालाई रुवाउने ।
लाग्दो हो सपनाको बगैचा सुन्दर हो
जहाँ रङ्गिचङ्गि फुलहरु फुलिरहेको हुन्छ
चराचुरुङ्गी र पुतलिहरु नाचिरहेको हुन्छ
केहि बेरमै चिन्ता र निरासा छाउँछ
आकास निशब्द हुन्छ अनि मन मसानघाट ।
यसरी आफ्नै सपना जलेको थाहा हुदैन्
अस्तब्यस्त शहरको भिडमा
जसले राखेको र बोकेको छ
केहि थान कोठाभित्र सपनाहरू
उसैले पाउँदैन सपना सकारको आचरण ।