शम्भु चौधरी, लहान, २ कार्तिक । लहान, सिरहा । सिरहाको लहान नगरपालिका–१५ स्थित बान टोलमा सडक ढलान कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुने भएको छ।
यसअघि सडकको अवस्था कमजोर हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न समस्या हुँदै आएको थियो। विशेषगरी वर्षायाममा हिलो र पानीका कारण आवागमनमा कठिनाइ हुने गरेको थियो। सडक ढलान भएपछि स्थानीय बासिन्दालाई दैनिक आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
आयोजनाको सूचना पाटीमा उल्लेख भएअनुसार सडक निर्माणको कुल लागत २० लाख ४२ हजार १०५ रुपैयाँ ८३ पैसा रहेको छ। जसमध्ये नगरपालिकाबाट १९ लाख ४० हजार रुपैयाँ र जनसहभागिताबाट १ लाख २ हजार १०५ रुपैयाँ २७ पैसा व्यहोर्ने उल्लेख छ। सडको लम्बाई ६० मिटर र चौडाई ६ मिटर रहेको छ ।
यसैगरी, नगरपालिकाले बान टोलवासीका लागि १०० केभीएको ट्रान्सफर्मरसमेत हस्तान्तरण गरेको छ। सडक निर्माण तथा विद्युत् सुविधासम्बन्धी पहलले स्थानीय बासिन्दालाई थप कृषिमा राहत पुग्ने अपेक्षा गरिएको छ।
सडक निर्माणले स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज बनाउनुका साथै टोलको विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। सडक पूर्वाधारको विकासले स्थानीयको दैनिक जीवनयापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा सडक तथा अन्य पूर्वाधारको विकासले बस्तीको विकासलाई थप गति दिने विश्वास गरिएको छ।
निर्माण गरिएको सडक ढलानको उद्घाटन नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा लहान नगरपालिका–१५ का वडाध्यक्ष तेजनारायण चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
