सिरहा, असोज ३०। नेपाल प्रहरीले आज शुक्रबार ७१औँ प्रहरी दिवस, २०८३ विभिन्न कार्यक्रम गरी मनाउँदैछ।
प्रहरी दिवसका अवसरमा कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै राष्ट्र र नागरिकको सुरक्षामा खटिएका प्रहरी कर्मचारीको योगदानको स्मरण गरिँदैछ।
खपेक्ष फलको छैन,सधै कर्तव्य चिनतन, आहुति प्राणको दिने तिमिमा अभिनन्दन यस ७१ औं प्रहरी दिवसको मुल नारा रहेको छ ।
प्रहरी दिवसले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने र नागरिकको जीउधनको रक्षा गर्ने कार्यमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकालाई स्मरण गराउने अवसर प्रदान गरेको छ।
दिवसका अवसरमा नेपाल प्रहरीका विभिन्न कार्यालयले रक्तदान, वृक्षरोपण, निःशुल्क स्वास्थ्य शिविरलगायतका सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरेका छन्। बागमती प्रदेशअन्तर्गत मकवानपुरमा स्थानीय बासिन्दा तथा प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो।
प्रहरी दिवसकै अवसरमा विभिन्न जिल्लामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएका छन्। बैतडीमा नौ जना प्रहरी कर्मचारीले रक्तदान गरेका छन् भने पाल्पामा आयोजित कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ। यस्ता कार्यक्रमले प्रहरीको जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नमा मात्र सीमित नभई सामाजिक सेवामा समेत रहेको सन्देश दिएका छन्।
बदलिँदो सामाजिक परिवेश, प्रविधिको विकास र अपराधका नयाँ स्वरूपले प्रहरी सेवामा थप चुनौती सिर्जना गरिरहेका छन्। यस्तो अवस्थामा व्यावसायिक दक्षता, निष्पक्ष अनुसन्धान, पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।
प्रहरी दिवसले अमर प्रहरीको बलिदानको सम्मान गर्दै संगठनलाई थप व्यावसायिक, जिम्मेवार र जनउत्तरदायी बनाउने प्रतिबद्धता दोहोर्याउने अवसर प्रदान गरेको छ। नागरिकको विश्वास जित्दै कानुनको प्रभावकारी कार्यान्वयन र समाजमा शान्ति सुरक्षा कायम गर्नु नै प्रहरी दिवसको मूल सन्देश हो।
