शम्भु चौधरी सिरहा २५ असोज । कञ्चनपुर–कमला केके सडक आयोजना अन्तर्गत ग्रामीण महिलाको आर्थिक अवस्था सुधार, उद्यमशीलता विकास तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले महिला सशक्तीकरणका कार्यक्रम अन्तर्गत लेखा व्यवस्थापन, अचार बनाउने तालिम, च्याउ खेती सम्बन्धि तिन दिने पुनर्ताजगी तालिम आईतवार सम्पन्न भएको छ।
ग्रामीण क्षेत्रका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, सीप विकास गर्ने तथा स्थानीय स्रोतसाधनको उपयोग गरी आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्यसहित सञ्चालन गरिने यस्ता कार्यक्रमले महिलाहरुको जीविकोपार्जन सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ग्रामीण महिलाहरू घरायसी कामकाज, कृषि तथा पशुपालनमा संलग्न भए पनि पर्याप्त पुँजी, प्राविधिक ज्ञान, बजार पहुँच र उद्यम सञ्चालनसम्बन्धी सीपको अभावमा आर्थिक अवसरबाट अपेक्षित लाभ लिन सकिरहेका छैनन्। यस्तो अवस्थामा महिला लक्षित सीपमूलक तालिम, उद्यमशीलता विकास, वित्तीय साक्षरता तथा आयआर्जनका कार्यक्रमले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने केके सडक आयोजनाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले बताईन।

त्यसैगरी, महिलालाई उद्यम स्थापना तथा सञ्चालनका लागि आवश्यक व्यावसायिक ज्ञान, लेखा व्यवस्थापन, बचत गर्ने बानी, ऋणको सदुपयोग र बजार व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गर्नु आवश्यक छ। उत्पादित वस्तुको बजारीकरण, सहकारी तथा वित्तीय संस्थासँगको सहकार्य र स्थानीय बजारसँगको सम्बन्ध विस्तारले महिला उद्यमीलाई आफ्नो व्यवसाय दिगो बनाउन मद्दत गर्न सक्छ।
केके सडक आयोजनासँग सम्बन्धित सामाजिक तथा जीविकोपार्जनका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, महिला समूह, सहकारी संस्था, सामुदायिक सङ्घसंस्था तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिन्छ। विशेषगरी विपन्न, सीमान्तकृत तथा रोजगारीका अवसरबाट वञ्चित महिलालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न सके आर्थिक अवसरको न्यायोचित वितरणमा सहयोग पुग्न सक्छ।
महिला लक्षित कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न तालिममा मात्र सीमित नभई व्यवसाय स्थापना, आवश्यक प्रविधिमा पहुँच, वित्तीय सहयोग, उत्पादनको गुणस्तर सुधार र बजारसँगको सम्बन्ध विस्तारसम्म सहयोग पुर्याउनु आवश्यक छ। यसका साथै कार्यक्रमबाट लाभान्वित महिलाको प्रगति, आयआर्जनमा आएको परिवर्तन तथा व्यवसायको निरन्तरताको नियमित अनुगमन पनि महत्त्वपूर्ण हुन्छ।
तालिममा लेखा व्यव्स्थापनमा मुकेश कुमार महतो, अचार बनाउने तालिममा सुसिल चौधरी र च्याउ खेती विषयमा ममता साह प्रशिक्षकको रुपमा रहेको थियो । तालिम समापन्न समारोहमा डिभिजन सडक लहान अन्तर्गत कमला देखि बलान सम्मको योजना प्रमुख उज्जवल श्रेष्ठको समेत उपस्थित रहेका थियो ।
ग्रामीण महिलालाई सीप, स्रोतसाधन र बजारसँग जोड्न सकिए उनीहरूलाई स्वरोजगारका अवसर सिर्जना गर्न, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन तथा परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन मद्दत पुग्नेछ। यसले महिला सशक्तीकरणसँगै ग्रामीण समुदायको समावेशी तथा दिगो विकासमा समेत योगदान पुर्याउन सक्छ।
यसर्थ, कञ्चनपुर–कमला सडक आयोजना अन्तर्गत ग्रामीण महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकता दिँदै सीप विकास, वित्तीय पहुँच र बजार व्यवस्थापनमा जोड दिनु आवश्यक छ।

