शम्भु चौधरी लहान, १४ असोज । लहान नगरपालिका १५ ढोढना स्थित श्री राजदेवी आधारभूत विद्यालयमा आज विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।
विद्यालय व्यवस्थापन समिति गठनका क्रममा अभिभावक, शिक्षक,जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमित उपस्थिति तथा विद्यालयमा आवश्यक पूर्वाधार विकासका विषयमा समितिले भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष तेजनारायण चौधरी तथा शिक्षा समितिका सदस्य राज कुमार सिंहको रोहबरमा समिति गठन गरिएको विधालयका प्रअ देवि प्रसाद चौधरीले बताए । गठनको पहिलो चरणमा चार सदस्य क्रमशः देवकुमारी चौधरी, गीता सदाय, भुनिता चौधरी तथा अनिता चौधरी रहेका छन । वडा अध्यक्ष चौधरीले छनौट भएको चारै जनालाई बधाई तथा शुभकामना दिएका छन ।
नवगठित समितिले विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने, विद्यालय र अभिभावक बीचको सम्बन्ध थप मजबुत बनाउने तथा विद्यालयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
विद्यालय व्यवस्थापन समिति गठनसँगै विद्यालयको आगामी शैक्षिक गतिविधि तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विश्वास विद्यालय परिवार तथा स्थानीय अभिभावकहरूले व्यक्त गरेका छन्।
गठन समारोह लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको प्रअ चौधरीले बताए ।

