धर्म-संस्कार · नेपाल पोस्ट दैनिक बिशेष · समाचार

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भक्तिभावका साथ मनाइँदै

लहान, १९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने पवित्र पर्व श्रीकृष्ण जन्माष्टमी आज श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। नेपाली पात्रोअनुसार यस वर्ष जन्माष्टमी भदौ १९ गते अर्थात् सेप्टेम्बर ४ मा परेको छ।

हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई पूजा आराधना गर्ने गर्दछन्। धार्मिक मान्यताअनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमी तिथिको मध्यरातमा श्रीकृष्णको जन्म भएको थियो। यही घटनाको स्मरणमा हरेक वर्ष जन्माष्टमी पर्व मनाउने परम्परा रहँदै आएको छ।
सोहि अवसर पारी लहानका विभिन्न चोकहरुमा भगवान श्रीकृष्णको प्रतिमा बनाई मेला लगाईएका छन । आज र भोल गरि दुई दिन भव्य रुपमा मेला लाग्ने गर्दछ । आज भगवानको जन्म भए साँझ पख मेला र भोलि शनिबार दिन भरी मेला लाग्ने लहानका मेला समितिले बताए ।
जन्माष्टमीका अवसरमा कृष्ण मन्दिरमा विशेष पूजा, आराधना, भजन–कीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ। भक्तजनहरू उपवास बसेर राति मध्यरातसम्म जाग्राम बस्ने तथा श्रीकृष्णको जन्मोत्सव मनाउने गर्छन्। मन्दिर तथा घरहरूमा बालकृष्णको मूर्ति सजाएर झुला राख्ने, अभिषेक गर्ने, आरती तथा प्रसाद वितरण गर्ने चलनसमेत छ।

श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रूपमा पनि स्मरण गरिन्छ। महाभारतमा अर्जुनलाई दिएको उपदेशका रूपमा रहेको श्रीमद्भगवद्गीताले कर्तव्य, सत्य, धर्म र कर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने धार्मिक विश्वास छ।

जन्माष्टमीले धार्मिक आस्थासँगै आपसी सद्भाव, प्रेम, भाइचारा र सत्य तथा सत्कर्मको सन्देशसमेत दिने गर्दछ। यस पर्वका माध्यमबाट अन्याय र अत्याचारविरुद्ध सत्यको पक्षमा उभिन तथा समाजमा सकारात्मक सोच र सद्भाव कायम गर्न प्रेरणा मिल्ने विश्वास गरिन्छ।