संजय कुशवाहा / नवलपरासी ९ भदौ नवलपरासीमा कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै केराउ,छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा पूर्ण रुपले प्रतिबन्ध लगेको छ ।जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले उक्त प्रतिबन्ध लगाएको छ । सोमवार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको ओसारपसार र चोरी निकासी बढेलंगै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा पनि जिल्लामा वैद्य-अवैद्य रुपमा हरियो सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकता भन्दा बढी भण्डार र अवैद्यरुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकोले सोमबारदेखि उक्त वस्तुहरुको ओसारपसार तथा ढुवानीमा प्रतिबन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । साथै अर्को आदेश नहुँदासम्म केराउ, छोहडा, मरिच लगायत वस्तुको ओसारपसार र ढुवानी गर्न पाईने छैन । जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचना अनुसार सोमबार राति नौं बजेपछि अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा प्रहरीको कन्ट्रोल नं.- १०० मा जानकारी गराई मात्र घरबाट निष्कन अनुरोध समेत गरिएको छ ।