शम्भु चैधरी,लहान १० पुष । अल्मुनाई एशोसिएशन नेपाल एन सि सि को ८ औं वार्षिकोत्सव सिरहा नवराजपुर गाउँ पालिकाको माध्यमिक विद्यालय सोनवर्षामा “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिकाको प्रमुख शिवउदगार यादवले एनसिसिले विद्यार्थी जीवनमै अनुशासन, नेतृत्व, राष्ट्रप्रेम र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अल्मुनाई एशोसिएशनले त्यसलाई जीवनभर निरन्तरता दिन प्रेरणा दिएको बताए। उहाँले अनुशासित नागरिक नै सशक्त राष्ट्र निर्माणको आधार हुने भएकाले एनसिसि जस्ता संस्थाको भूमिका अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।
एनसिसि नेपालका केन्द्रीय पदाधिकारीहरूले संस्थाको स्थापनादेखि हालसम्म गरेका गतिविधिबारे जानकारी गराउँदै सामाजिक सेवा, विपद् व्यवस्थापन, रक्तदान, शैक्षिक सहयोग तथा राष्ट्रहितका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको एनसिसिका प्रदेश सचिव लक्षमण शर्माले बताए। उनीहरूले आगामी दिनमा युवालाई लक्षित गर्दै नेतृत्व विकास, स्वदेशमै रोजगारी अभिवृद्धि तथा समाजसेवामूलक कार्यक्रमहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
साथै, सांस्कृतिक प्रस्तुतिहरू, अनुभव आदान–प्रदान तथा भावी कार्ययोजनाबारे छलफल गरिएको थियो। एनसिसि नेपाल सिरहाको आयोजनामा सम्पन्न वार्षिकोत्सवले संगठनात्मक एकता, अनुशासन र राष्ट्रिय सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूको निष्कर्ष रहेको छ।
एन सि सि मुख्यालय, जगन्नाथदेवल, काठमाण्डौद्वारा आयोजित कार्यक्रममा जिल्ला भरका एन सि सि सदस्यहरूको सहभागिता रहेको थियो।