महेश सिंह लहान – स्थानीय तहमा नीति तथा योजना निर्माणमा साना तथा सिमान्त किसानहरूको आवाज समावेश गराउने उद्देश्यले धनगढीमा ‘किसानी बहस’ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र नगरपालिकाहरूको छाता संगठन पालिका महासंघको संयुक्त आयोजनामा उक्त बहस सम्पन्न भएको हो।
महासंघका प्राविधिक अधिकृत ईश्वर थापाका अनुसार, बहसले साना किसानका अधिकार, उनीहरूको उत्पादनको मूल्य र सरकारी सहायता कार्यक्रमको प्रभावकारितामाथि गहन छलफल गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका कृषक प्रतिनिधिहरूले आफ्ना अनुभव र समस्या साझा गरेका थिए।
कृषकहरूका उत्पादनमा वृद्धि, बजार पहुँच, कृषि अनुदानको पारदर्शिता र मलखादको समयमा आपूर्ति जस्ता मुद्दा उठाइएका थिए। महासंघका फिल्ड सहायक बेदा बस्नेतले जानकारी दिएअनुसार बहसमा उठेका प्रमुख मागहरू संकलन गरी ज्ञापनपत्रको रूपमा सम्बन्धित नगरपालिकामा बुझाउने निर्णय गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका महासंघका पूर्व जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवारले किसानका मागहरूलाई नीति निर्माण तहसम्म पुर्याउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
सहभागी किसानहरूले वर्तमान कृषि नीतिले साना किसानको अवस्था सुधार गर्न नसकेको भन्दै स्थानीय सरकार समक्ष चाँडो सुधारका पहलको माग गरेका थिए। विशेषगरी मलखादको अभावले उत्पादनमा असर परेको भन्दै दर्जनौं किसानहरूले मलखाद उपलब्ध गराउन महासंघमार्फत सरकारलाई दबाब दिन आग्रह गरेका थिए।