सन्जु कुमारी दास लाहान सिराहा, सिरहाको विभिन्न पालिकामा विभिन्न कार्यक्रमहरू गरी ११५औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । पालिकाहरूको आयोजना र विभिन्न संघसंस्थाको सहकार्य र समन्वयमा सिराहको गोलबजार, धनगढीमाई, सिरहा, लाहान नगरपालिका तथा अर्नामा, विष्णुपुर, नवराजपुर गाउँपालिका लगायतका पालिकाहरूमा यस अवसरमा रैली, अन्तरक्रिया, र सम्मान गरी मनाइएको छ ।
गोलबजार नगरपालिका को आयोजनामा र मुक्ति नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल र दलित विकास मञ्च लगायतको संघ संस्थाको सहकार्यमा ¥याली र अन्तरक्रियापछि सङ्घर्षशील र आफूलाई स्थापित गर्न सफल भएकी चारजना श्रमिक महिलालाई उहाँहरूको कामको सम्मान गर्दै दोसल्ला र सम्मानपत्र दिई सम्मान गरिएको थियो ।
सिराहा नगरपालिकामा श्रमिक महिलाको अधिकार सुनिश्चितताका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम तथा महिलाको क्षेत्रमा प्रभावकारी रूपमा काम गर्दै आएको संघसंस्था हरूलाई सम्मान गरिएको थियो । त्यस्तै अरु पालिकाहरूमा पनि ¥याली र अन्तरक्रिया कार्यक्रम गरी महिलाको सवालहरूमा छलफल गरी र उनीहरूको अप्ठ्यारा परिस्थितिहरुलाई उजागर गर्दै यसप्रति सबैजना जिम्मेवार हुन र महिलाको श्रमको मूल्याङ्कन गरी उनीहरूलाई पनि सम्मानपूर्वक बाँच्न, समान कामको समान ज्यालादारी, कामको मूल्याङ्कन आदि इत्यादि विषयमा विभिन्न सरोकारवालाहरू के गर्न सक्छन् र कसरी विभेद रहित समाजको निर्माण गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा भएको थियो ।