शम्भु चौधरी लहान १४ फाल्गुन । आगामी मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई लक्षित गरी आयोजित कार्यक्रममा वृद्धि भइरहेका लैंगिक हिंसाका घटनामा सञ्चारकर्मीहरूको सहकार्य र भूमिकाबारे महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम मंगलबार गोलबजारमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू, महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागिहरूले सञ्चारमाध्यमले लैंगिक हिंसाका घटनालाई जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, पीडित महिलाको गोपनीयता रक्षा गर्दै वस्तुनिष्ठ रिपोर्टिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गरियो।
मुक्ति नेपाल गोलबजारले आयोजना गरको अन्तरक्रियामा सहभागिहरूले सञ्चार क्षेत्रको प्रभावकारी उपयोग गरी समाजमा सचेतना अभिवृद्धि गर्ने, लैंगिक हिंसाविरुद्ध जनमत निर्माण गर्ने तथा हिंसाका घटनाहरू रोकथाम गर्न रणनीतिक पहल आवश्यक रहेको बताए। यस अवसरमा महिला अधिकारकर्मी सन्जु कुमारुी दासले लैंगिक हिंसाका घटनालाई सम्बोधन गर्न सञ्चारमाध्यमले उठाउनुपर्ने मुद्दाहरूको सूची प्रस्तुत गरे। तयार पारीएको सुचिमा घरेलु हिंसा, बालविवाह, महिला हिंसा ईत्यादी गरी जम्मा १ सय ८३ वटा घटना प्रस्तुन गरिएको छ । जसका सबभन्दा बढी श्रीमानबाट ९६ जना पिडित भएको तथ्यांकमा उल्लेख भएको छ ।
सहभागी सञ्चारकर्मीहरूले पनि आफ्नो तर्फबाट लैंगिक हिंसाविरुद्धको अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले महिला हिंसासम्बन्धी समाचारहरूमा संवेदनशीलता अपनाउने, पीडितको सुरक्षालाई ध्यानमा राख्ने तथा हिंसाका घटनाहरू न्यूनीकरणका लागि सरकार र समाज दुवैको भूमिकालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
संचारकर्मीहरुको प्रश्नको जवाफ मुक्ती नेपाल गोलबजारकी अध्यक्ष देव कुमारीले दिईएको थियो ।