महेश सिंह लहान–१९ नौडेगामा लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरले विशेषगरी आर्थिक रूपमा कमजोर, दलित, सीमांतकृत, अपाङ्ग तथा टाढा जान नसक्ने समुदायका लागि ठूलो राहत प्रदान गरेको छ।
शिविरमा फुलबारी क्लिनिकका वरिष्ठ जनरल फिजिसियन डा. रितेश कुमार गिरी, महिला रोग विशेषज्ञ डा. गीता यादव, रेडियोलोजिस्ट बिनय यादव र सिद्धान्त यादव, एलआरएलका संचालक विजय यादव, ल्याब टेक्निसियन सुशमा साह, हेल्थ असिस्टेन्ट उषा यादव र ल्याब टेक्निसियन रेखा यादवको नेतृत्वमा बिरामीलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण र औषधि वितरण गरिएको थियो।
कार्यक्रमको उद्घाटन लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकरप्रसाद गुप्ताले गरेका थिए। प्रमुख अतिथि वडा नम्बर १९ का अध्यक्ष मोहम्मद कमरुदिन राईनले शिविरको महत्वमाथि प्रकाश पार्दै आर्थिक अभावका कारण उपचारका लागि धरान, विराटनगर वा काठमाडौं जान नसक्ने स्थानीयका लागि यस्तो सेवा निकै महत्त्वपूर्ण रहेको बताए। उनले यस प्रकारका सेवामूलक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लब अफ लहान फुलबारीलाई धन्यवाद व्यक्त गरे।
शिविरमा तीन सयभन्दा बढी बिरामीले स्वास्थ्य जाँच गराई आवश्यक परामर्श र औषधि प्राप्त गरेका छन्। विभिन्न रोगका विशेषज्ञ र प्राविधिकहरूको सहयोगमा बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष शंकरप्रसाद गुप्ताले शिविर सफल बनाउन योगदान दिने सबै स्वास्थ्यकर्मी र डाक्टरहरूलाई सम्मानपत्र प्रदान गरेका छन्। उनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
शिविरमा सेवा लिएका स्थानीयले गाउँमै यस्तो गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गर्दै आयोजक संस्थालाई धन्यवाद दिएका छन्।
लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष गुप्ताका अनुसार, क्लबले आगामी दिनमा पनि ग्रामीण भेगका विपन्न र सेवाबाट वञ्चित नागरिकको लागि यस्ता शिविर सञ्चालन गर्ने योजना बनाएको छ।