महेश सिंह लहान, सिरहा – नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाले आफ्नो २१औं वार्षिक साधारणसभा शनिबार लहानमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम उपशाखाका सभापति फुलेश्वर महतोको अध्यक्षतामा र लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानसहित गरिएको थियो। प्रमुख अतिथि चौधरीले रेडक्रसजस्तो मानवीय सेवामा समर्पित संस्थाको योगदानलाई प्रशंसा गर्दै रक्तदानको महत्त्वबारे प्रकाश पारे। “रक्तदान महादान हो, यसले जिवन बचाउँछ। समाजका सबै तह र तप्काबाट यसको अभियानलाई सशक्त बनाउनु पर्छ,” उनले भने। नगरपालिकाले रेडक्रसका गतिविधिहरूलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
साधारणसभामा विभिन्न संघसंस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। ब्लड फोर नेपाल, लहान सिटी जेसिज, नेपाली कांग्रेस नगर कार्यसमिति, लहान नगरपालिका लगायतका संघसंस्थालाई कदरपत्र प्रदान गरिएको थियो। आपतकालीन अवस्थामा रक्तदान गर्ने रक्तदाताहरूलाई पनि विशेष सम्मान गरियो।
शाखाको भौतिक सामग्रीको व्यवस्थापन र कार्य विस्तारमा योगदान दिने व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरियो। उनीहरूको योगदानले समाजसेवामा नयाँ ऊर्जा थपिएको शाखाका सभापति महतोले बताए।
शाखाका कार्यालय प्रमुख मनिष कुमार यादवले साधारणसभामा झन्डै सयजना सहभागी भएको जानकारी दिए। कार्यक्रममा रेडक्रसका पुराना स्वयंसेवकदेखि युवा सदस्यहरूको पनि सक्रिय उपस्थिति थियो।
कार्यक्रममा विभिन्न संघसंस्थाले रेडक्रसलाई आर्थिक र सामग्री सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए। नगर प्रमुख चौधरीले आगामी दिनमा नगरपालिकाको तर्फबाट थप सहयोग गर्ने आश्वासन दिए। साधारणसभा विभिन्न सम्मान, प्रतिवेदन प्रस्तुतिकरण,र आगामी योजनाको चर्चा गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।