महेश सिंह सिरहा, माघ १६ – जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बिस्तारित बैठक कल्याणपुरस्थित रामजानकी धर्मशालामा सम्पन्न भएको छ। बैठकले क्षेत्रीय समन्वय समिति, प्रदेश समन्वय समिति (क) र (ख) गठनको प्रक्रिया सुरु गरेको छ।
पार्टीका जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा आयोजित बैठकमा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेशका पूर्व राज्य मन्त्री सुरेश मण्डलको विशेष उपस्थिति रहेको थियो। अन्य अतिथिहरुमा केन्द्रीय सदस्यहरू रामकुमार मण्डल, तिरपुरा झा, अतिथिमा नेता राम दयाल यादव, देब कान्त सिंह, विजय यादव, रञ्जित यादव, हरि यादव, नरहा गाउँपालिकाका अध्यक्ष बद्रीनारायण यादव र लक्ष्मी श्रेष्ठलगायतको सहभागिता थियो।
बैठकका क्रममा अध्यक्ष अशोक यादवले माघ १६ देखि १९ गतेसम्म जनबर्गीय संगठनका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। त्यस्तै, लहानको सहिद चौकमा बलिदानी दिवस मनाइने र माघ ५ गते सिरहाको क्याम्पसमा आमसभा आयोजना गरिने पनि उनले बताए। आमसभामा ५० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।
बैठकमा क्षेत्रीय समितिका पदहरूमा धेरै उम्मेदवारी परेका कारण समिति गठनमा केही चुनौती देखिएको छ। यद्यपि, माघ ५ गतेपछि बस्ने बैठकबाट समिति गठनलाई अन्तिम रुप दिइने अध्यक्ष यादवले बताए।
अध्यक्ष यादवले आगामी कार्यक्रमहरूले जसपा नेपालको संगठनात्मक शक्ति देखाउने दाबी गर्दै सिरहा क्षेत्रलाई पार्टीको प्रभावशाली आधारभूमिका रूपमा विकास गरिने बताए।
बैठकले प्रत्येक वडाबाट एक–एक जना प्रतिनिधि मनोनयन गर्ने र थप पाँच प्रतिनिधिलाई मनोनयनको अधिकार प्रदान गर्ने निर्णय गरेको छ। यसै क्रममा पार्टीले संगठन विस्तार र जनतामा विश्वास निर्माण गर्ने योजना अघि सारेको छ।
कार्यक्रमलाई सफल बनाउन पार्टीका नेता–कार्यकर्ताहरू सक्रिय रहेको र यसले जसपा नेपालको संगठनात्मक प्रभावकारिता झल्काउने सहभागीहरूले बताएका छन्।