सिरहा- नवराजपुर गाउँपालिका–१ ढेकहामा शुक्रबार साँझ करिब ३ बजे बिद्युत् सर्ट भएर लागेको आगलागीमा १० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
आस्था नेपाल, लहानले करिब ४० हजार रुपैयाँ बराबरको राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराएको छ। सहयोग सामग्रीमा ग्यास सिलिन्डर, चुलो, खाद्यान्न, लत्ताकपडा लगायत रहेका छन्।
राहत वितरण कार्यक्रममा मधेस प्रदेशसभा सदस्य संजय यादव, उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडा, आस्था नेपालका अध्यक्ष सुदीपराज कुशवाहा, कोषाध्यक्ष विजय यादव, रामप्रकाश सिंह र त्रिलोक यादव लगायतका व्यक्तिहरू सहभागी थिए।
पीडित रबि लाल यादव र चन्द्र देश्वर यादवका घर तथा गोठ जलेर पूर्णरूपमा नष्ट भएको स्थानीयवासीले जनाएका छन्। आगलागीबाट पीडित परिवारलाई वडाध्यक्ष नवीन कुमार यादवले ५० किलो धान र २१ सय रुपैयाँ नगद सहयोग गरेका छन्। सिरहा जिल्लाबाट प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले ७ हजार रुपैयाँ र बिनोद यादवले ५ हजार रुपैयाँ प्रदान गरेका छन्।
स्थानीय सरकारको तर्फबाट गाउँपालिकाले केही खाद्य सामग्री र दुई थान ब्लाङ्केट सहयोग गरेको छ। आगोले भौतिक क्षति पुर्याएपछि राहतको पहलमा विभिन्न संघसंस्थाहरूको सक्रियता देखिएको छ।
स्थानीयवासी सीताराम यादवका अनुसार आगलागीमा घर, गोठ र अन्य संरचनासहित करिब १० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको हो। पीडित परिवारको पुनर्स्थापनाका लागि थप सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ।