सिरहा लहान / लहान सिटी जेसिजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ सिरहाले आयोजक टिमलाई ३–२ को रोमाञ्चक नतिजामा पराजित गर्दै सानदार जित हासिल गरेको छ।
सामाजिक र युवा लक्षित कार्यक्रमको हिस्साको रूपमा आयोजित यो खेल लहानको मुख्य खेल मैदानमा भएको थियो। खेलको उद्घाटन सत्रमा लहान सिटी जेसिजका पूर्व अध्यक्ष राकेश झा, शंकर प्रसाद गुप्ता, मुरारी प्रसाद साह, र वर्तमान अध्यक्ष उमेश कुमार यादवले टिमहरूको उत्साहवर्धन गरेका थिए।
उद्घाटन समारोहमा पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवको नेतृत्वमा सिरहाका ख्यातिप्राप्त पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित पत्रकारहरूमा कोषाध्यक्ष बिरेन्द्र नेपाल, अर्जुन प्रसाद गुप्ता, राजेन्द्र महतो, बिरेन्द्र यादव, लाल बिहारि यादव, शम्भु यादव, महेश सिंह, र जिवछ उदासीलगायत जिल्ला भरीका पत्रकारहरू सहभागी थिए।
खेल दुई भागमा विभाजित गरिएको थियो, प्रत्येक २०/२० मिनेटको खेल पहिलो हाफमा पत्रकार महासंघ सिरहाले उत्कृष्ट प्रदर्शन गर्दै २ गोलको अग्रता लिएको थियो। पत्रकार महासंघका लागि खेलको पहिलो गोल ८ औं मिनेटमा अर्जुन प्रसाद गुप्ताले गरेका थिए। दोस्रो गोल भने १५ औं मिनेटमा जिवछ उदासीले आकर्षक फिनिशका साथ गरेका थिए।
तर, पहिलो हाफको अन्त्यतिर सिटी जेसिजले एउटा काउन्टर अट्याकबाट गोल गर्दै स्कोरलाई २–१ मा झारे। दोस्रो हाफको शुरुवातमै जेसिजले अर्को गोल थप्दै खेललाई २–२ को बराबरीमा ल्यायो।
तर, पत्रकार महासंघ सिरहाका लागि खेलको निर्णायक गोल ३५ औं मिनेटमा लाल बिहारि यादवले गरे, जसले महासंघलाई ३–२ को जित दिलायो।
कार्यक्रमको उद्देश्य खेलकुदमार्फत समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको आयोजकले बताएका छन्। यसै अवसरमा पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले भने, “यो खेल कुनै हार–जितको प्रतिस्पर्धा होइन। हाम्रो उद्देश्य भनेको खेलकुदलाई माध्यम बनाएर युवा पुस्तालाई दुर्व्यसन र लागू औषधको खतराबाट टाढा राख्नु हो। यसले खेलप्रतिको रुचि र चेतना दुवैलाई प्रोत्साहन गर्नेछ।”
सिटी जेसिजका अध्यक्ष उमेश कुमार यादवले पनि कार्यक्रमको उद्देश्यप्रति सहमति जनाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
खेल हेर्न स्थानीयवासी र विभिन्न समुदायका व्यक्तिहरूको उत्साहजनक उपस्थिति थियो। कार्यक्रमले दुबै टिमबीचको मित्रता र सहकार्यको भावना झल्काएको थियो।
कार्यक्रमले खेलकुदको महत्व मात्र होइन, सामाजिक समस्याहरूप्रति सचेतना जगाउने माध्यमका रूपमा खेलकुदको भूमिका समेत उजागर गर्यो।