सिरहा — जनमत पार्टीले रंगभेदविरुद्ध देशभर एकसाथ प्रदर्शन गर्दै सिरहाको धनगढीमा विशाल र्याली निकालेको छ। प्रदर्शनका क्रममा पूर्व–पश्चिम राजमार्ग झन्डै तीन घण्टा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। जिरोमाइलबाट सुरु भएको र्याली धनगढी बजारस्थित राजमार्गमै कोणसभामा परिणत भयो।
पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री संजय कुमार यादव, नेता बिनोद यादव, इन्द्रजित यादव, सुभाष साह, इन्द्रदेव महतो, दिलीप दास, र रमेश मण्डललगायत हजारौं नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको र्यालीले राजमार्गभरि उर्लिएको जनसागरको दृश्य प्रस्तुत गरेको थियो।
प्रदर्शनकारीले ‘नस्लवादी राज्य चाहिँदैन’, ‘रंगभेद आक्रमण बन्द गर’, ‘मधेसी एकता जिन्दावाद’, र ‘रंगको आधारमा विभेद गर्न पाइँदैन’ जस्ता नाराले धनगढी बजार गुञ्जायमान बनाए।
राजमार्गमा प्रभाव
देशभरका राजमार्गहरू अवरुद्ध हुँदा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका थिए। धनगढी क्षेत्रमा मात्रै करिब तीन घण्टा राजमार्ग ठप्प रहँदा यात्रुहरू समस्यामा परे।
प्रदर्शनको प्रभावका कारण सिरहाका बजारहरू सुनसान देखिएका थिए। उद्योग, कलकारखाना र सार्वजनिक यातायात पनि प्रभावित भएका छन्।
प्रहरीको तयारी र सुरक्षा प्रबन्ध
आन्दोलनका क्रममा सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। धनगढीका सुरक्षा प्रमुख बालेश्वर यादवका अनुसार प्रदर्शनलाई नियन्त्रणमा राख्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। “प्रदर्शन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सबै तयारी गरिएको थियो,” उनले भने।
नेतृत्वको प्रतिबद्धता
पार्टीका नेताहरूले रंगभेदविरुद्ध संघर्ष अझै तीव्र बनाइने घोषणा गरेका छन्। “रंगको आधारमा भेदभाव कुनै पनि हालतमा स्वीकार्य छैन। राज्यले नस्लभेद अन्त्य नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ,” नेता संजय कुमार यादवले कोणसभालाई सम्बोधन गर्दै भने।
देशभर एकसाथ गरिएको प्रदर्शनले जनमत पार्टीको एजेन्डालाई थप बल दिएको छ। प्रदर्शनपछि राजमार्ग खुलाइए पनि नेताहरूले माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।