लहान १९ कार्तिक । माझी समुदायहरुले आज ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन ।
अल्पसङ्ख्यकका रुपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरा पर्व’ भनिने गरिएको हो । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व आफ्नै रीतिरिवाजअनुसार मनाउने गरिन्छ ।
मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षका बिचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ । “यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्”, माझीले भने । उनले देशभरका माझी समुदायद्वारा आइतबार साँझदेखि विधिपूर्वक यो पर्व मनाइरहेको बताए ।