लहान ६ फाल्गुन । महान पर्वकाे रूपमा रहेको शिवरात्री हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जाग्राम बसी भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् भने कतिपय भक्तजनहरू रातभर उपवास बस्छन् ।
धार्मिक मान्यता अनुसार सृष्टिको प्रारम्भमा भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान गरेर महाशिवरात्रि पर्व मनाइन्छ । मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको छ । भगवान शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो ।
शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैले शिवरात्रि भनिएको हो ,यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता रहेकाे छ ।
भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो । शिवरात्रिका दिन नै ब्रह्मले रूद्ररुपी शिवजीलाई उत्पन्न गराएको मान्यता राखिन्छ साथै यसै दिन शिव पार्वतीको विवाह भएको जन विश्वास गरिन्छ भने यस दिन भगवान शिवले ज्योतिर्लिंगकाे स्वरुपमा उत्पन्न भई ब्रह्म र विष्णुलाई दर्शन दिएका थिए ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूग्धाभिषेक र शिव महिमा, कीर्तन, शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन् । शिवरात्रिको पालना गर्नाले भुक्ति र मुक्ति दुवै प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।