शम्भाु चौधरी लहान २४ मंसिर। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ का ३१ वर्षिय युवक राजाराम सहनीले कृषि पेशालाई आफना कर्म थलो मान्दै माछा व्यवसाय शुरु गरेका हुन् । करीब २ वर्ष अगाडि बार्षिक २ लाख ८० हजार सम्झौतामा ४ बिगाहा जग्गा लहान नगरपालिकाको वडा नं २२ स्थित लिजमा लिएर करिब १८ लाख खर्च गरेर ६ वटा पोखरी खनेर माछा पालन व्यवसाय थालेका सहनीले शुरुवातमै ७ लाख ८० हजारको माछा बिक्री गरेको छ । माछा पालन गरेर आफूले करिब १० जनालाई रोजगारीको अवसर दिनसक्ने बताउँदै सहनीले माछा पालनबाट राम्रो आम्दानी हुने कुरा बताउनुहुन्छ । सरकारले कृषिमा कागजी रूपमा कृषि अनुदानको कुरा गरेपनि आफूलाई हालसम्म कुनै पनि सरकारबाट अनुदान प्राप्त नभएको बताए । कृषि अनुदानको लागि आफूले सरकारले घोषणा गरेको कार्यक्रमहरुमा माग गरेको बमोजिम कागजात पेस गरेपनि आफूलाई कृषि अनुदानबाट वञ्चित गरिएको दुःखेसो पोखेका छन् । कहीं कतैबाट आफूलाई सहयोग प्राप्त नभएको बताएका सहनीको वास्तविक अवस्था बुझ्नका लागि कृषि क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाहरुले स्थलगत अनुगमन गर्न जरूरी देखिन्छ ।