जनकपुरधाम , २३ मंसिर । मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् ।
१ सय ७ सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमाले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ ।
विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट ल्याएको छ ।
प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टी समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा २ सिट पाएर पाँचौँ दल भएको छ ।
मधेसमा नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिकमा ४र४ गरी ८ सिट जितेको छ । नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ ।
प्रत्यक्षमा ६ सदस्य स्वतन्त्र उम्मेदवारीबाट आएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एकरएक सिट जितेका छन् ।
दैनिक नेपालबाट