✍️लक्ष्मण साह ।हिन्दुहरुको मात्र नभई संसारका सबै धर्मावलम्बीहरु र नेपाल देशका लागि मात्र नभई संसारका सबै देशहरुको महान चाड हो “लकडाउन”। यो कुनै तिथिमिती अनुसार मनाइने चाड होइन। कुनै पनि देशको सरकारको चाहना अनुरुप मनाइने गरिन्छ यो चाड। यसलाई अरु पर्वहरुभन्दा पृथक के कुराले बनाउँछ भने यो अरु पर्वहरुजस्तो वर्षमा एक पटक नभइ सरकारकै इच्छाअनुरुप महिनामै कैयौंपटक पनि मनाइन्छ। अन्य चाडहरुझै यो चाड मनाउनुको पनि छुट्टै इतिहास रहेको छ।
सन् 2019 को December महिनाको अन्तिमतिर चिनको वुहान सहरका स्थानिय बासिन्दाहरुले विशाल यज्ञको आयोजना गरेका रहेछन्। त्यस बखत त्यही यज्ञमा एउटा अप्रिय घटना घटेको रहेछ, जसले गर्दा दुष्ट शक्तिहरू सक्रिय भइ त्यसको प्रकोपबाट त्यहाँका मानिसहरु मर्न थालेका रहेछन्। पछि विज्ञहरुले त्यस दुष्ट शक्तिको नामाकरण गरि त्यसलाई “Corona” वा “Covid-19” भन्न थालेका रहेछन्। त्यस यज्ञमा विभिन्न अन्य देशका नागरिकहरु पनि भाग लिएको मानिन्छ। त्यहाँ पुगेका सम्पुर्ण मानिसहरुलाई प्रकोपले प्रत्यक्षरुपमा असर गरेको रहेछ र पछि त यसले संसारको सबै ठाउँमा आफ्नो डेरा जमाएको रहेछ। त्यसपछी त्यसको रोकथामका लागि जानकारहरुले विभिन्न उपायहरु बताए। ती मध्य मुख-नाक छोप्नु, हात साबुन पानीले सफाले धुनु, अर्को व्यक्तिको सम्पर्कमा सकेसम्म नआउनु जस्ता प्रमुख उपायहरु सामेल रहेछन्। यति गरिसकेपछी पनि डर रहिरहने तर रोकथाम भने गर्न सकिने रहेछ। एकअर्काको सम्पर्कलाई रोक्न सबै देशका सरकारहरुले एउटा नयाँ किसिमको योजना बनाएका रहेछन् , जसको नाम हो “लकडाउन”। यस योजना अनुसार सबै जना आफ्नो घरमै बस्ने, अतिआवश्यक काम परेको बेला मात्र घर बाहिर निस्कने, घरमै साबुन पानीले मिचिमिची हात धुनेजस्ता प्रावधानहरु लागू गरिएको रहेछ। त्यस दुष्ट शक्तिको प्रभाव अझ पनि रहिरहेको हुनाले चली आएको परम्परालाई निरन्तरता दिने क्रममा लकडाउन पर्व मनाउन थालिएको मानिन्छ।
निकै बढी दिनसम्म मनाइने यो चाड आजबाट शुरु भएको छ। आजबाट यहि साउन ३२ गते सम्म मनाउने भनिएको लकडाउन परिस्थिती असहज भएमा थप केही दिन लम्बिन पनि सक्ने अनुमान गर्न सकिन्छ। त्यस दुष्ट शक्तिलाई कहिल्यै पनि पुर्णरुपमा नष्ट गर्न नसकिने पनि केही विज्ञहरुको धारणा रहेको छ। तर उनिहरु यसको विनाशको उपाय खोज्न लागिपरेका छन। लकडाउन पर्वलाई त्यस दिनसम्म निरन्तरता दिइनेछ जहिलेसम्म यसको कुनै ठोस उपाय पत्ता लाग्ने छैन। दिर्धायुका लागि मनाइने यो चाडको नीतिनियमहरुलाई पालना गर्दै राम्रोसँग मनाउन आग्रह गर्दछु। लकडाउन पर्वको धेरै-धेरै शुभकामना!