क्वारेन्टाइनमा बसेका २०० बढी भारतीय नागरिकलाई मंगलबार भारत पठाइयो।
राजन कुमार बानिया
May 19, 2020
मा प्रकाशित
Spread the love
वीरगञ्ज ६ जेठ।वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसलगायत अन्य क्वारेन्टाइनमा बसेका २०० बढी भारतीय नागरिकलाई मंगलबार भारत पठाइएको छ ।
लकडाउन सुरुभएदेखि नेपालका विभिन्न भागमा मजदुरी गरी भारत फर्किने क्रममा वीरगञ्ज पुगेका उनीहरुलाई मंगलबार भारत पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुलाई अलौ सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी) नाका हुँदै भारत पठाइएको उनले बताए । आफ्ना नागरिकलाई लिन भारतले आईसीपीमा ७ वटा बस पठाएको थियो ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डीएम सर्वत अशोक कपिललाई जिम्मा लगाएर उनीहरुलाई भारत पठाइएको उनले बताए ।
बस्नेतका अनुसार भारत फर्किनेमा क्यम्पसको क्वारेन्टाइनमा बसेका ९९ जना र वीरगञ्जस्थित आफन्तकोमा बसेका गरी दुई सयभन्दा बढी रहेका छन् । भारत फर्किएकाहरुको वास्तविक तथ्याङ्क संकलनको काम भइरहेको उनले बताए ।
भारत फर्किने मध्येमा एकजना कोरोना संक्रमण निको भएर फर्किएका व्यक्ति रहेका छन् । अन्य दुई जनामा भने पुनः संक्रमण देखिएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन् ।