नरेन्द्र महतो गौशाला ६ जेठ।लकडाउनको मौका छोपी अवैध रुपमा नदी उत्खन्न भईरहेको जनगुनासो बढेपछि स्थानियसँगै जनप्रतिनिधीहरु महोत्तरीको गौशालास्थित मरहा नदीको अवलोकन गरेका छन ।
सोमबार विहान प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापा सम्मलित टोलीमा नगरका ६ जना वडाअध्यक्ष, ईन्जिनियरसहितको टोली स्थानियसँगै नदीमा भएको उत्खन्नको मापन गरेका हुन ।
नदी मापनको क्रममा नेपाल सरकारको आईए विपरीत उत्खन्न गरेको पाईएको वडा नं ५ का वडाअध्यक्ष धर्मेन्द्र कुमार साहले बताए । अध्यक्ष साहले अवैध रुपमा उत्खन्न भईरहेको नदीबाट मानवजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि यसलाई नियमन गर्नुपर्नेमा जोड दिए ।
सोही क्रममा वडा नंं ८ का वडाअध्यक्ष एवम नगरप्रवक्ता भोजवहादुर दर्लामीले नदी उत्खन्नको विषयमा वारम्बार नगरपालिकाले कदम उठाईएतापनि स्थानिय क्रसर व्यवसायीहरु अटेरीपन गर्दै आएकोले चाँडै नै नियमन गरिने जनाए । नगरपालिकाले वृहत छलफल गरि ठोस रुपमा उचित निर्णय लिने समेत धारणा राखे ।
यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले नदी उत्खन्नमा संग्लन जोकोहीलाई कानुन अनुसार कारवाही गरिने प्रतिवद्धता जनाए ।
गौशाला नगरपालिका वडा नंं ८ र १० को वीचभागबाट वग्ने मरहा खोलामा भईरहेको अवैध रुपमा भईरहेको नदी उत्खन्नले आजित भएका स्थानियहरु आईतबार नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।