काठमाडाैं ३१ बैशाख।पछिल्लो पाँच दिनमा करिब २५ हजारजना विभिन्न नाकाबाट उपत्यका भित्रिएका छन् । जसमध्ये धेरैजसो अत्यावश्यक सामान बोक्ने सवारी लिएर आएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा दैनिक करिब तीन हजार सवारीसाधन भित्रिने गरेका छन् । जसमध्ये अधिकांशमा चालकबाहेक थप व्यक्ति हुने गरेका छन् ।
पासका आधारमा बाहिरबाट आएकाहरूले संक्रमण फैलाउन सक्ने जोखिम छ । ‘सांसदहरूको गाडीमा ५–६ जना आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘केही थप कार्यालय खुल्ने भएपछि सरकारी कर्मचारी पनि आएका छन्, उनीहरूबाट संक्रमण फैलने जोखिम छ ।’
गृह मन्त्रालयले लकडाउनमा कहिले कडाइ तथा कहिले खुकुलो गर्दै आएको छ । उपत्यकाका मुख्य सडकमा धेरै भीड नभए पनि भित्री सडक र पसलमा भीडभाड हुने गरेको छ । खाद्यान्न तथा तरकारी खरिदमा सामाजिक दूरी अपनाइएको छैन ।
पसल सञ्चालकले पनि सुरक्षा नअपनाउँदा जोखिम बढेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।