२८ बैशाख।नेपालमा हालको जन्मदरले चालु वर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेका छन्। विश्व बैंकले सन् २०१८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन् भने २० प्रतिशत मानिसहरू सहरमा बस्छन्।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा रहेका ५० लाख युवाहरुमध्ये ५० प्रतिशतमात्र अर्थात २५ लाख नेपालीहरु आफ्नो देशमा फर्केको अवस्थामा तीमध्ये पनि कम्तिमा २० लाख त गाउँमा नै फर्कने छन्।’
नेपाल कृषि अनुसन्धान परिषदका कृषि विज्ञ, अन्तरराष्ट्रिय कृषि वैज्ञानिक डा.टीकाबहादुर कार्कीको माथिको भनाइलाई आधार मान्ने हो भने विश्वमा कोरोना संक्रमणको अवस्था केही मत्थर हुन थालेपछि वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका करिव २० लाख युवाहरु गाउँमा फर्किने छन्।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापी लकडाउन (बन्दाबन्दी) गरिएपछि शहरमा रहेका युवकहरु गाउँ फर्केका छन्। गाउँ फर्केका युवाहरुले मौलिक कृषि प्रणालीलाई ब्युँत्याउन थालेका छन्।
अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिन र खोरियाखर्कहरुमा परिश्रम गरिरहेका भेटिन्छन्।