काठमाडौँ १९ बैशाख / पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।