विराटनगर १८ बैशाख / कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएमा दाहसंस्कार एवं अन्त्येष्टी गर्न मोरङमा शव व्यवस्थापन टोली तयार गरिएको छ । प्रदेश १ मा संक्रमित संख्या बढ्दै गइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङले भने शव व्यवस्थापन टोली तयारी अवस्थामा राखेको हो । शव कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीपूर्ण बनिरहेका बेला इन्सपेक्टर (प्रहरी निरीक्षक) मिलन थापाको नेत्रृत्वमा १० जनाको टोली तयार गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन । यदि मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न विशेष तालिम दिएर टोली तयार गरिएको छ ।
कोरोनाका कारण यदि कसैको मृत्यु भएमा दाहसंस्कार गर्ने, शव छिटो गरेर घाटमा पु¥याउने, अन्त्येष्टी गर्ने, पीपीई प्रयोग गर्ने लगायत शव व्यवस्थापनका क्रममा अपनाउनु पर्ने सुरक्षा सावधानी एवं सतर्कताका बारेमा आवश्यक तालिम र प्रशिक्षण दिएर टोली तयार गरिएको एसपी अधिकारीको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि २०७६ अनुसार टोली तयार गरिएको हो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टी अरु मृतकको जस्तो सहज नहुने र अन्त्येष्टीमा धेरै भीडभाड गर्न नमिल्ने भएकाले त्यसका लागि विशेष टोली बनाइएको उनको भनाइ छ ।
यसका कारण मृत्यु भएमा परिवारका सदस्यले पनि शव छुन नपाउने स्थिति बन्छ,’ एसपी अधिकारीले भने, ‘त्यो बेला शवलाई त्यत्तिकै छाड्ने कुरा पनि भएन ।
शव व्यवस्थापन कार्यविधि अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जति सक्दो चाँडो घाटमा पु¥याउनु पर्ने हुन्छ । त्यसका लागि शव बहान प्रयोग गर्नु पर्दछ । शव उठाउनु भन्दा अघि बहानका कर्मचारी र चालकले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनु पर्छ । शवलाई कम मात्रामा छुने र चलाउने गर्नु पर्छ । दाहसंस्कारमा सहभागी हुनै पर्ने आफन्त एवं नातेदारले अनिवार्य रुपमा पञ्जा, चस्मा, टोपी, मास्क र पीपीई लगाउनु पर्ने कार्यविधिमा उल्लेख छ । ६० वर्ष माथिका र दीर्घ रोगीलाई शवको छेउमा जान दिन हुँदैन । दाहसंस्कार गर्नु अघि शवलाई नछोइकन पानी छर्किने, पाठ गर्ने तथा फूलमाला चढाउने एवं अरु रीतिरिवाज पूरा गर्न सकिने छ । मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढैबाट एक÷एक जनाका दरले पालैपालो मात्रै हेर्नुपर्दछ र शवलाई दहन गर्नुपर्दछ ।