१५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण प्रयास सही ट्र्याकमा छ ।’ हुन पनि इटली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरुमा हजारौंको संख्यामा मानिसहरुले ज्यान गुमाउँदा पनि नेपालमा स्थिति फरक छ । कोरोना संक्रमितको संख्या ५२ पुगेको छ तर संक्रमणको फैलावट निकै कम छ र मानवीय क्षति छैन ।
त्यसैले अब लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ भन्ने बहस सुरु भएको छ । सरकारले पनि यो बहस थालेको थियो र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छलफलमा विज्ञहरुले पनि लकडाउनको मोडल परिवर्तन गर्न सुझाएका थिए ।
तर आइतबार मन्त्रिपरिषद्ले १० दिन अर्थात वैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय गर्यो । यसले स्वाभाविक रुपमा प्रश्न जन्माएको छ, ‘फेरि कोरोना संक्रमणको खतरा बढेको हो ? वा तयारी नपुगेकाले लकडाउन थपिएको हो ?
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की अहिले नेपालमा करिब करिब नियन्त्रणमा रहेको बताउँछन् । विस्तारै लकडाउन खुकुलो बनाउने मन्त्रालय सोच छ र त्यसका लागि विज्ञहरुसँग सुझाव पनि मागिएको छ ।
त्यसो भए फेरि पुरानै मोडलमा लकडाउन किन त ? सरकारले आफ्नै योजनाअनुसार काम गर्न नसक्दा यो निर्णय गर्नु परेको सरकारी अधिकारी स्वीकार गर्छन् । ‘संक्रमित भेटिएको समुदायको सबैलाई टेस्ट गर्ने भने पनि त्यहाँ सबै मानिसको स्वाब कलेक्सन गर्न सकिएको छैन’ डाक्टर कार्की भन्छन्, ‘लकडाउन भनेपनि मानिसको आवतजावत बन्द भएको छैन । अनि कसरी सेफ जोन मार्किङ गर्ने ?’
स्वास्थ्य मन्त्रालयले विज्ञहरुको सुझावअनुसार रेड, एल्लो र गि्रन जोन मार्किङ गर्ने र त्यसअनुसार लकडाउन कडा र खुकुलो बनाउने योजना बनाएको थियो ।
यसका लाथि एकातिर टेस्टको दायरा बढाउनुपर्छ भने अर्कोतिर मानिसको आवतजावत पूर्ण रुपमा बन्द गर्नुपर्छ । तर सरकारले टेस्टको दायरा बढाउन सकेन भने मानिसहरुको आवतजावत पनि पूर्ण रुपमा रोक्न सकेन । बरु काठमाडौं उपत्यकामा भएका हजारौं मानिसहरु गाउँगाउँ लैजाने होडबाजी जनप्रतिनिधिहरु बीचमै चल्यो भने विभिन्न जिल्लामा रहेकाहरु पनि काठमाडौं आए ।
यस्तो अवस्थामा लकडाउन खोल्दा संक्रमण हृवात्तै बढ्ने खतरा हुने डा. कार्की बताउँछन् ।
के हो त अहिलेको रणनीति ?
स्वास्थ्य मन्त्रालयको अधिकांश विज्ञहरु अहिलेको रणनीति टेस्ट, ट्रेस र टेस्ट नै भएको बताउँछन् । कोरोना भाइरसको संक्रमित भेछिएको क्षेत्रलाई नै सिल गरेर सबैकेा जाँच गर्नु बाहेकको अन्य रणनीति नभएको उनीहरुको कथन छ ।
नयाँ रणनीति किन नबनाइएको त ? डाक्टर कार्की केही केसको उदाहरण दिन्छन्,
डाक्टर खेम कार्की भन्छन्, ‘अहिले जे भइरहेको छ, त्यो अप्रत्याशित छ । त्यसैलै कुनै निश्चित रणनीति बनाएर त्यसअनुसार चल्नुभन्दा एक्टिभ केस पछ्याइरहेका छौं ।’
सरकारले दुई साता अघिसम्म सुदूरपश्चिमलाई ‘हटस्पट’ मानेको थियो । त्यही अनुरुप तयारी पनि गरेको थियो । टेस्ट र कन्ट्याक ट्रेसिङको काम थालेकोथियो । त्यही बेला वीरगञ्जमा रहेका तीन जना भारतीय जमातीमा कोरोना संक्रमण देखियो । लगत्तै सरकारको ध्यान वीरञ्जतिर मोडियो । त्यहाँ कन्ट्याक ट्रेसिङको काम गर्दा गर्दै उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदमा बसेका एक नेपाली र ११ भारतीय गरी १२ जना जामातीमा कोरोना संक्रमण देखियो । सोही दिन चितवनमा पनि २ जनामा संक्रमण पुष्टि भयो । संक्रमणको सिलसिला त्यतिमै रोकिएन, थुल्केमा थप संक्रमित भेटिएका छन् ।
सरकारको ध्यान उदयपुरतिर गयो । कन्ट्याक ट्रेसिङ गर्ने टोली बाहेक उदयपुरमा अनुगमन गर्ने ४ जनाको विज्ञ टोली पठायो । विज्ञ टोलीले प्रारम्भिक अनुसन्धानबाट संक्रमणको स्रोत जमातीहरु नभएर लकडाउन घोषणा हुनुभन्दा अगाडि नै भारत र तेस्रो मुलुकबाट आएका युवक, जसमा पनि कोरोना संक्रमणको पुष्टि भयो, हुनसक्ने आशंका गर्यो । तर उनीहरुबाटै संक्रमण सरेको भन्ने आधार भेटिएको छैन । मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर कार्की भन्छन्, ‘उदयपुरमा संक्रमित भएकाहरुमध्ये को अगाडि निको हुन्छन्, त्यसबाट संक्रमणको स्रोत पत्ता लगाउन सहयोग मिल्नसक्छ कि ।’
त्यही बेला भोजपुरका एक युवामा संक्रमण देखियो । झापामा पनि संक्रमित भेटिए । विदेशबाट आएका छोराले बुवालाई सारेको भनेपछि अरु ठाउँमा पनि संक्रमण सर्ने खतरा बढ्यो । झापामा अर्का व्यक्तिमा पनि संक्रमण पुष्टि भयो ।
यही कारण सरकारले लकडाउनको मोडलमा कुनै परिवर्तन नगरेको डाक्टर कार्कीको तर्क छ । भन्छन्, ‘अहिले जे भइरहेको छ, त्यो अप्रत्याशित छ । त्यसैलै कुनै निश्चित रणनीति बनाएर त्यसअनुसार चल्नुभन्दा एक्टिभ केस पछ्याइरहेका छौं ।’
अर्को ठाउँ हटस्पट बन्नसक्छ
लकडाउन गरेको डेढ महिना भएपनि भारतबाट लुकेर नेपाल आउने क्रम अझै रोकिएको छैन । काठमाडौं उपत्यकाबाट विभिन्न गाउँ पुगेका मानिसहरुका कारण पनि संक्रमण देखिने खतरा बढेको भन्दै डाक्टर कार्की भन्छन्, ‘भुल्के जस्तै अरु कुनै ठाउँमा कोरोना ‘हटस्पट’ बन्यो भने अनौठो नमाने हुन्छ ।’
मन्त्रालयले यही साता मुस्लिम आयोगको सहयोगका काठमाडौंका विभिन्न मस्जिदमा बसेका २०० भन्दाबढी जमातीको कन्ट्याक ट्रेसिङ पनि गरेको थियो । उनीहरु मध्ये १७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अरुको रिपोर्ट आउन बाँकी नै छ ।
अधिकारीहरुकाअनुसार लकडाउनकै समयमा १६ जना जमातीको एउटा समुह सडकको बाटो हुँदै काठमाडौं आएको र महालक्ष्मी स्थानको एउटा मस्जिदमा बसेको पाइएको छ । उनीहरुलाई लिएर आउने एक जना जमाती वीरगञ्ज पुगेकाले सबैको कन्ट्याक ट्रेसिङ सकेर नमुना परीक्षणको काम भइरहेको छ ।
यस्तै नेपाल बुद्दिस्ट फेडेरेसनसँग सहकार्य काठमाडौंमा रहेका गुम्बमा बसेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भइसकेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘लकडाउनको बेला काठमाडौबाट गाउँ र भारतबाट नेपाल छिर्ने मानिस हाम्रो चूनौती भए । त्यही कारण सेफ जोन मार्किङ गर्ने रणनीति फेल खायो’ डाक्टर कार्की भन्छन् ‘अब बोर्डरबाट छिर्ने मानिस रोक्न रणनीति बनाइरहेका छौं ।’
उदयपुरको समीक्षा के ?
अहिलेको अवस्थासम्म उदयपुरको त्रियुगा नागरपालिका-३ भुल्के कोरोना संक्रमणको हटस्पट बनेको छ । स्थानीयहरुलाई भन्दा अगाडि भारतबाट छिरेका जमातीहरुलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ हल्लीखल्ली मच्चिएको थियो ।
अहिले सरकारले उदयपुरलाई खतराको घण्टी मानेर संक्रमण देखिएको क्षेत्र सिल गरेको छ । त्यहाँ अनुगमन गर्न खटिएका टोलीले केही भन्ने बेला भएको छैन भनेर मन्त्रालयलाई रिपोर्टिङ गरेका छन् । तर उनीहरुको संकेत संक्रमणको स्रोत विदेशबाट फर्किएका नेपाली वा विदेशबाट आएका जमाती हुनसक्ने छ । डाक्टर कार्की भन्छन्, ‘युरोप अमेरिकाको अवस्था हेरेर नेपालको अवस्था विश्लेषण गर्न सकिन्न । अहिले म्याथम्याटिक्सले काम गर्दैन ।’
केही विज्ञहरुको फरक मत
स्वास्थ्य मन्त्रालयको केही विज्ञहरुको भने फरक मत छ । उनीहरु स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिन कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिती बन्नु घातक भएको मान्छन् ।
समन्वय समितिको ध्यान राजनीतितिर जादाँ गर्न सक्ने काम पनि नभएको एक विज्ञ सुनाउँछन् । ‘स्वास्थ्य मन्त्रालय इतिहासकै दुर्बल समयमा छ’ उनी भन्छन्, ‘भूकम्पले तहसनहस हुदाँ पनि स्वास्थ्यले गर्यो, तर अहिले कोरोनामा उच्चस्तरीय समन्वय समिति बनाएर मन्त्रालयलाई कमजोर बनाइयो ।’ उनी अहिले नेपाल कुन अवस्थामा छ भन्ने विश्लेषण गर्न सक्ने अवस्था नरहेको बताउँछन् । उनकाअनुसार भ्याक्सिन नबन्दासम्म खतरा रहहिरन्छ।साभार:अन्लाईनखबर