काठमाडौं, १५ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री पदबाट केपी ओलीलाई हटाए पार्टी र मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै बास्कोटाले ओलीको सहमतिविना सरकार परिवर्तनको संभावना नरहेको बताए । ‘प्रधानमन्त्री ओलीलाई जवरजस्ती हटाइएमा भयंकर दुर्घटना हुनेछ’, उनले भनेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिट प्रकरणमा ७० करोड कमिशनको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका बास्कोटाले ‘एक्सन गरेपछि रियाक्सन पनि हुन्छ ।’
केपी ओलीकै कारण नेकपा पार्टी बनेको उनले बताए । ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केपी ओलीकै कारण नेकपाको झण्डै दुईतिहाइ बहुमत आएको हो’, बास्कोटाले भने, ‘स्थानीय तहको निर्वाचनमा माओवादीको के हालत भएको थियो सबैलाई थाहा छ ।’
तत्कालीन एमालेका अध्यक्ष ओलीको अपीलका आधारमा अहिलेको नेकपालाई विशाल जनमत प्राप्त भएको उनले बताए ।
उनले ओलीले गल्ती गरेको भए कारबाही पनि जनताले नै गर्ने तर्क गरेका छन् ।
‘जनमत जनताले दिने, कारबाही चाहिँ कुनै कुनामा लुकेर बसेका अरु कसैले गर्न मिल्दैन’, बास्कोटाले भने, ‘कारबाही गर्नु परे जनताले नै गर्छन ।’
उनले जनमत एउटाको नाममा आउने, शासन गर्ने लोभ अर्काले गर्ने कुरा मान्य नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले मधेशवादी दलहरूलाई फुटाउन अध्यादेश ल्याएको आरोपको बास्कोटाले खण्डन गरेका छन् । ‘नेकपालाई अहिले परालको त्यान्द्रो चाहिँदैन’, उनले भनेका छन् ।
अपहरणको विषयलाई पनि उनले अस्वीकार गरेका छन् । ‘आफै आउने अनि अपहरण भयो भन्न मिल्दैन’, उनले भने ।
प्रधानमन्त्री ओलीलाई नश्लीय राजनीति गरेको आरोप लगाएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टाराईलाई पनि उनले नश्लीय राजनीति सबैभन्दा बढी डा.भट्टराईले नै गरेको आरोप लगाए ।
जातीयत, क्षेत्रीयताको राजनीति सबैभन्दा बढी डा.भट्टराईले नै गरेकाले अरुलाई नश्लीय राजनीति गरेको आरोप लगाउन नसुहाउने नेकपाका नेता बास्कोटाको टिप्पणी गरेका छन् ।दैनिक नेपाल