काठमाडौं, १५ वैशाख । पूर्वमा अलपत्र परेका यात्रु व्यवस्थित हिसाबले काठमाडौं छिर्ने क्रममा नागढुंगामा प्रहरीले रोकेपछि सुरु भयो, प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालको भिलेन रुप !
नाकामा आइपुगेका सर्वसाधारणको स्वास्थ्य जाँच गराई सुरक्षित हिसाबले काठमाडौं प्रवेश गराउने तथा शंका लागेकालाई अस्पताल पठाउने दायित्व विर्सेर सिडिओ दाहालले जहाँबाट आएको त्यहि फर्काउनका लागि निर्देशन दिएपछि सर्वसाधारण आक्रोशित छन् ।
सरकारले लक डाउनको समय थपेको र थप कडाई गरेका कारण सिडिओ दाहालको निर्देशन भए पनि हात्ति छिर्यो पुच्छर अड्क्यो भएपछि यात्रु आक्रोशित भएका हुन् ।
१२ घन्टादेखि उक्त क्षेत्र तथा थानकोटलगायतमा सर्वसाधारण अलपत्र परेका छन् । ‘हामी छिरिसकेको अवस्थामा सरकारले सुरक्षाका विविध उपाय अपनाए सहयोग गर्न तयार छौं तर यति लामो बाटोमा जहाँबाट आएको उतै जानु भन्ने त ठिक भएन नि’, आक्रोशित एक यात्रुले भने,‘यो सरकारको समन्वयकारी भूमिका भएन ।’

थानकोटमा अलपत्र परेका यात्रु
विभिन्न जिल्लामा अलपत्र रहेका राजधानीवासी सर्वसाधारण स्थानीय निकायको समन्वयमा काठमाडौं छिर्न लागेका थिए । सबै जिल्लाका प्रशासनले छाड्ने तर काठमाडौंले रोक्ने काम गलत भएको भन्दै यात्रु आक्रोशित छन् ।
सिडिओ दाहाल काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायतको सुरक्षा निकायको टोली लिएर नागढुंगासम्म पुगेका थिए । उनले नाकामा कडाई गर्न निर्देशन दिँदै आएका यात्रुलाई सोही ठाउँमा फर्काउन निर्देशन दिएका थिए ।
कोरोना भाइरस (कोभिड १९) फैलन नदिनका लागि सरकारले लक डाउनलाई प्रभावकारी बनाउने नीति अख्तियार गरेको छ । सोही अनुसार गृह मन्त्रालयले माथाहतका निकायलाई निर्देशन दिएका कारण सिडिओ दाहाल पनि बाध्यकारी रहेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनायो ।दैनिक नेपाल