यसले नेकपा कार्यकर्ता र कतिपय नेतामा पार्टी विभाजनतिर जाने हो की भन्ने त्रास पनि छ । खासगरी यो त्रासको मुख्य विन्दुमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको मतभेद भनी खुट्याइएको छ । सतहमा त्यस्तो देखिएको छैन । ओलीसँगको मत मतान्तर भने उपाध्यक्ष बामदेव गौतमलगायतको प्रष्टसँग देखिएको छ भने विवरणहरुमा पनि सोही उल्लेख छन् ।
विविध चर्चासँगै एकीकृत र बलियो बनेको नेपाल कम्युनिस्ट पार्टी कमजोर हुने, सरकार गिर्ने जस्ता चर्चा छन् । यद्यपि, चर्चामा भए जस्तो प्रधानमन्त्री ओली र आफूबीच भनाभन नभएको भन्ने प्रष्टोक्ति गौतमले दिइसकेका छन् ।
विविध चर्चासँगै नेकपाका कतिपय नेताहरूका अभिव्यक्ति ओली र प्रचण्ड खेमामा विभाजित भएर प्रचारमुखि हुँदा खटपट बढेको र विभाजन हुनसक्ने लख काट्ने धेरै छन् । ‘पार्टीमा विचारको मन्थन हुँदा यस्ता विविध विषय देखा पर्छन् तर यसको परिणाम भयानक हुने, विभाजनमा जाने या सरकार गिर्नेसँग ताल्लुक राख्दैनन्’, एक स्थायी समिति सदस्य भन्छन्,‘यी विविध विषयमा छलफल र निकास निकाल्ने हिसाबले नै परामर्श र मन्थन अवश्य हुनेछन् ।’
नेकपा एकीकरणको निर्णयमा पुग्नु वा त्यसको कार्यान्वयन गराउनका निम्ति तत्कालिन एमाले र माओवादीका अध्यक्ष भएका नाताले ओली–प्रचण्डको बोल्ड निर्णयले नै काम गरेका कारण अहिले पनि दुवैको सहकार्यमात्र पार्टीको जीवन जोगाउन सक्ने आधार रहेको बताइन्छ ।
ओली–प्रचण्डबीच पहिला गठबन्धन र एकताको सहमति भएपछि मात्र चुनावी मैदानमा नेकपाले दुई तिहाई बहुमतको नजिक सदनमा उपस्थिति जनाएको थियो । जहाँ तत्कालिन एमालेभित्रको गुटगत विभाजनका कारणले नै बर्दियामा उपाध्यक्ष गौतमले चुनावमा पराजय भोगेको निष्कर्ष निकालियो ।
‘पूर्वमाओवादीका कारणले बामदेवले चुनाव हारेका थिएनन् । यसकारण पनि अहिलेको विभाजित मानसिकता वा विवादको फेरोको अन्त्य संस्थापन देखिएका ओली र अध्यक्ष प्रचण्डको एकताले मात्र नेकपा बलियो र सरकार स्थिर हुनेछ’, उच्च स्रोतले भन्यो ।
नेकपामा ओली–प्रचण्डको दूरीमा तेस्रो धारले अवसर खोजीरहेको भन्ने पनि कम छैनन् । ‘हिजो एमाले मात्र हुँदा पनि ओलीलाई पाखा लगाउन खोज्नेहरु, आफू एमालेको शक्तिमा रहँदा पनि ओलीलाई पेल्नेहरुले पार्टी एकताविरुद्ध खेलीरहेका छन्’, नेकपा नेता महेश बस्नेतले स्पष्ट भनेका छन्,‘पार्टी विभाजन हुँदैन, सहकार्यका हिसाबले नै अगाडि बढ्नेछ ।’
कतिपय नेताले भने ओली–प्रचण्डको समझदारीले नै नेकपाले गति पाएको बताएका छन् । भागवन्डा भन्दा पनि पार्टीको जीवन र स्थिर सरकारका लागि प्रधानमन्त्री हेरफेरका कुरामा समेत फरक सहमति भएको स्मरण गर्दै एक नेता भन्छन्,‘प्रधानमन्त्री नै छाड्ने भए ओलीले प्रचण्डसँग गरेको सहमतिअनुसार छाड्नुहुने थियो तर त्यहाँ समझदारी नयाँ बन्यो र सरकार चलाइरहनु भएको छ । त्यस्तो विवाद केही छैन ।’दैनिक नेपाल