बर्दिया, ६ वैशाख । काठमाडौंदेखि पैदल हिँडेर बर्दियाका राजकुमार थारू बिहीबार साँझ भुरिगाउँको क्वारेन्टाइनमा आइपुगे । चार वर्षीया छोरी र श्रीमतीसहित क्वारेन्टाइनमा आएका राजकुमारका परिवारले क्वारेन्टाइनमा पेटभरी खाना खाए । खाना खाँदैगर्दा राजकुमार घरीघरी श्रीमती र छोरीलाई हेर्थे । एकछिन आफू पनि टोलाउथे ।
एक सातादेखि यो परिवारको पेटभरी अन्न परेको थिएन । श्रीमती र छोरीले मज्जाले खाना खाएको देख्दा राजकुमारको अनुहारमा खुसीको भाव झल्कन्थ्यो । खाना खाँदैगर्दा उनले राजधानीकर्मीसँग भने, ‘रोगले भन्दा त भोकले पर्ने पिरलो थियो, जसोतसो यहाँ पुगियो, अब बाच्ने आशा पलायो ।’ श्रीमानले यसो भनिरहँदा उनकी पत्नीले मुख छोपेर तल टाउको लगाइन् । ‘बाँच्ने आस मारिसकेका थियौं ,। पानीले मात्र कति बाँचिन्थ्यो र ?’ छोरीलाई काखी च्याप्दै राजकुमारले यात्राको पीडा सुनाउँदै भने, ‘हिँडेदेखि श्रीमती र छोरीको पेट भर्न सकेको थिइनँ, बडो प्राण बचाएर यहाँसम्म आयौं ।’
काठमाडौंबाट पैदल मुग्लिन पुगेपछि उनले ट्रकको सहायता पाए । त्यहाँबाट नारायणघाटसम्म आए । नारायणघाटमा रातभर सडकमा बिताएका उनले त्यहाँ पनि गाडी नपाएपछि पैदल हिँडे । कतै पैदल त कतै छोटो दूरीको साधनको सहयोग लिँदै उनी बिहीबार बिहान बर्दियाको सीमा मानखोला आइपुगेको उनले सुनाए ।
राजकुमारको परिवार मजदुरीका लागि केही महिनाअघि काठमाडौं छिरेका थिए । दुवै जनाले ज्याला मजदुरी गर्ने र सानी छोरीलाई उतै पढाउने उनीहरूको सपना थियो । तर, उनको यो सपना धेरै दिन टिकेन । मुलुक एकाएक कोरोना भाइरसको त्रासले लकडाउन भएपछि यो परिवारले काठमाडौंमा बसेर ज्यान बचाउने कुनै उपाय भेट्टाएन । लकडाउनका बेला गाउँसम्म पुग्न कुनै साधन पाइँदैन भन्ने थाहा हुँदाहुँदै पनि राजकुमार ज्यानकै बाजी लगाएर हिँडेरै भए पनि घर पुग्ने अठोट कसेर छोरीलाई काखी च्याँप्दै श्रीमतीसहित त्यहाँबाट निस्के ।
काठमाडौंबाट पैदल मुग्लिन पुगेपछि उनले ट्रकको सहायता पाए । त्यहाँबाट नारायणघाटसम्म आए । नारायणघाटमा रातभर सडकमा बिताएका उनले त्यहाँ पनि गाडी नपाएपछि पैदल हिँडे । कतै पैदल त कतै छोटो दूरीको साधनको सहयोग लिँदै उनी बिहीबार बिहान बर्दियाको सीमा मानखोला आइपुगेको उनले सुनाए ।
त्यहाँ स्थानीय सरकारले खाजा र पानीसहित गाडीको व्यवस्था गरेर उनीहरूलाई पायक पर्ने आफ्नो गाउँनजिकको क्वारेन्टाइनमा पु-याइयो । ठाकुरबाबा क्वारेन्टाइनमा भेटिएका राजकुमारले खुसीको श्वास फेर्दै भने, ‘ज्यानको आश त मरिसकेको थियो, बाँचे सँगै बाँचौंला, मरेसँगै मरौंला भनेर हिम्मत कसेर हिँड्यौं, जसोतसो घरसम्म आइपुग्यौं, यो भन्दा खुसी अरू केही छैन ।’ राजकुमारसँगै पैदल हिँडेर घर फर्केका नौ जना सबै स्थानीय निकायको क्वारेन्टाइनमा छन् ।
राजकुमार मात्र होइन पीडादायी पैदल यात्रा गरेर घरसम्म पुग्ने सबैको व्यथा उस्तै छ । ज्याला मजदुरीका लागि घर छाडेर अन्यत्र गएका व्यक्ति यतिखेर निकै कष्ट खेपेर घर फर्कन बाध्य भएका छन् । लकडाउन सकिने कुनै निश्चित समय सीमा नभएपछि मजदुरी गर्न गएका ज्यानकै बाजी लगाएर सयौं किलोमिटर पैदल हिँडेर आउन थालेका छन् । काभ्रे, काठमाडौं, पोखरा, नारायणघाटलगायतका सहरमा मजदुरी गर्न गएका दिनहुँजसो ३०–३५ जना पैदल नै हिँडेर आउने गरेका छन् ।
लकडाउनका बेला घर फर्कने सबैलाई यहाँका स्थानीय तहले पायक पर्ने क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् । पूर्वबाट जिल्ला प्रवेश गर्ने यहाँ पूर्वपश्चिम राजमार्गको मानखोला र हुलाकी सडकमा पनि मानखोला गरी दुई वटा नाका छन् । पूर्वबाट आउने जो कोहीलाई यिनै स्थानमा प्रशासनले रोकेर राख्ने गरेको छ । बाहिरबाट आएकाको पहिचान गरेर सबैलाई आआफ्नो पालिकाको क्वारेन्टाइनमा पठाइने गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । राजधानी दैनिकमा सुदीप अधिकारीले समाचार लेखेका छन् ।