लहान, १ बैशाख । सातौ शताब्दीदेखि लाग्दै आएको फुलवारी मेला यस बर्ष कोरोना भाइरसको कारण स्थगित भएको छ । सम्भवत आज १५ सय बर्षमा यो पहिलो चोटी सलहेश फुलवारी मेला स्थगित भएको हो ।
लहान १२ र २२ वडा स्थित रहेको फुलवारी नयां बर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने गरेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्दै आएको थियो ।
लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने उक्त फूल हेर्न मधेशका अधिकांश जिल्ला र भारतका विहारबाट श्रद्धालुभक्तजनहरु घुईंचो लाग्ने गरेको छ । प्रत्येक नयाँ वर्षको अवसरमा सिरहाका बिभिन्न ठाउँमा लाग्ने मेला यस पटक स्थगित गरिएको छ । नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा लाखौको सहभागितामा सलहेश फूलबारी मेला लाग्ने गर्दछ । सिरहामै पकडिया गढ, मानिक दह, धमनीमाई मेला र पतारी मेला लाग्ने गर्दछ । तर यसपटक यी मेलाहरु लाग्न नदिइने निर्णय भएको छ । मंगलबार सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँको अध्यक्षतामा सुरक्षा अधिकारी र केही स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले मेला लाग्न नदिइने निर्णय गरेको हो ।
विश्वभर कोरोना भाइरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनलाई पूर्ण पालना गराउनका निम्ति मेला लाग्न नदिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरागाइँले बताए ।
सलहेश फूलबारी मेलामा नेपाल तथा भारतका लाखौं दर्शनार्थीहरु आउने गर्छन् । यस दिन यो फूलबारीमा ‘अनौठो’ किसिमको फूल नयाँ वर्षको दिनमात्र फूल्ने गर्छन् । सो ‘सल्हेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ ।
सलहेश ‘सलहेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमिको गढको रुपमा रहेको त्यसबेला त्यहाँका सेनापति भैरबभूपाल सोमदेव र मनदोदरीका कोखबाट वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए ।
त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान पोखरियागढ, तरेगना गोविन्दपुरगढ, महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो ।
भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए ।
भुटानी भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस तरेगना गोविन्दपुरगढीको सेनापति नियुक्त भए ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि चोहरमललाई दोषी करार गरी रिहा भएका थिए । सहलेशसँग बालकालमै तरेगनागोविन्दपुरकी सात बहिनी मालिनीसँग प्रेम बसेको थियो । योसँगै पोखरीयागढकी राजकुमारी चन्द्रवतीसँग पनि बालकालमै प्रेम सम्बन्ध रहदै आएको थियो । चन्द्रवतीसँग प्रगाढ प्रेम भएपनि सलहेशलाई त्यहाँका राजाले स्वीकार गरेका थिएन । सात बहिनी रेशमा, कुशमा, हिरिया, जिरिया, पनमा, फुलवा र दौनालगायतको सुन्दरीले सहयोग गर्दा सहलेस र चन्द्रवतीबीच प्रेम भएको भन्ने किंबदन्ती छ । र सातै वहिनी सलहेशसँग प्रेम गर्दै आएका थिए । तर, सलहेशको विवाह बलाठका राजाकी छोरी सत्यावतीसँग भएको थियो । सलहेश तीन राजाका छोरीहरु ९ जनासँग प्रेम बन्धनमा थिए । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् ।
मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ । यता, सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ । हरेक वर्ष झै यात्रीहरुको स्वागतका लागि बिभिन किसिमका नाच गान, सर्कस खेल र राती बस्ने अस्थायी घर बनाउँने गरेको छ । तर, यस बर्ष मेलाको लागि कुनै तयारी गरिएको छैन । यो १५ सय बर्षपछि मात्रै यस्तो मेला स्थगित भएको हो ।