रामेछाप २८ चैत।रामेछाप जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा बस्नेको संख्या ६२ पुगेको छ। विभिन्न स्थानबाट रामेछाप जिल्ला भित्रिएका ६२ जनालाई जिल्लाका विभिन्न स्थानमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । शुक्रबारसम्म गोकुलगंगा गाउँपालिकामा ३ जना,सुनापति गाउँपालिकामा १५ जना,मन्थली नगरपालिकामा ७ जना,रामेछाप नगरपालिकामा २६ जना,खाँडादेवी गाउँपालिकामा ६ र लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । अहिले सबै होम क्वारेन्टाइनमा बसेका छन् ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएको कर्णले जानकारी दिए । हालसम्म मन्थली नगरपालिकलामा १७ जना , खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगंगा गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
कुन स्थानीय तहमा कति आइसोलेसन र क्वारेन्टाइन बेड ?
जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णकाअनुसार रामेछाप नगरपालिकामा ७ आइसोलेसन बेड र ७० क्वारेन्टाइन बेड, मन्थली नगरपालिकामा २२ आइसोलेसन बेड र २६ क्वारेन्टाइन बेड, सुनापति गाउँपालिकामा ६ आइसोलेसन बेड,खाँडादेवी गाउँपालिकामा ११ आइसोलेसन बेड र ४३ क्वारेन्टाइन बेड, दोरम्बा गाउँपालिकामा ७ आइसोलेसन बेड र १६ क्वारेन्टाइन बेड, उमाकुण्ड गाउँपालिकामा ५३ क्वारेन्टाइन बेड गोकुलगंगा गाउँपालिकामा ३४ क्वारेन्टाइन बेड लिखु गाउँपालिकामा ४९ क्वारेन्टाइन बेड निर्माण भएका छन्।