रौतहट २६ कात्तिक । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनी सेन्ट्री पोस्टमा थिए ।
पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार छन् । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् । रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भए पनि पुष्टि भइसकेको अनलाइनखबरलाई बताए ।
उनले भने, ‘चौकी सीमा क्षेत्रमा पर्छ । सञ्चार सेटमा सूचना आएको छ । थप विवरण लिने प्रयास गरिरहेका छौं ।’
घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको जनाइएको छ । प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ ।